• Email:

    info@lia.edu.np
  • Tel:

    +977 071-591298, 071-591874
  • Hotline:

    +977 9857077874
Hi, How Can We Help You?

पुस्तक पठन: मौन विद्रोहको अभिव्यक्ति ‘ताल्चा’

यो पुस्तक पढिरहँदा हजारौं प्रश्न मनमा आउँछ तर उत्तर हुँदैन किनभने हामीले पनि हाम्रो मस्तिष्कमा ताल्चा लगाएका छौं ।  हाम्रो मस्तिष्कमा दोस्रो व्यक्ति तथा समाजको धारणा नै सर्वोपरि भएको हुन्छ  तर यो बुझ्न हामीले मस्तिष्कको ताल्चा खोल्नुपर्छ । 

श्रेया लिम्बु

‘ताल्चा’ कथा सङ्ग्रह दिलिप वान्तवा लिखित एघार कथाहरूको संकलन हो । दिलिप वान्तवा दुरदराजका निर्दोष मानिसहरूको दुःख, व्यथा र पीडाहरूलाई कथामा अभिव्यक्त गर्ने सशक्त कथाकार हुन् । ‘ताल्चा’ यस्तै एउटा कथा सङ्ग्रह हो जहाँ लेखकले सतहमा प्रकट नभएका नेपालकै विभिन्न ठाउँको सत्य भोगाईहरू कथाको स्वरूप दिएका छन् । 

म यहाँ कथाहरूको समीक्षा गर्दैछैन । एक साधारण पाठकको आँखाबाट केवल आफ्ना भोगाईहरू मात्र अभिव्यक्त व्यक्त गर्दैछौ । 

जब म ‘ताल्चा’ पढिरहेको थिए त्यो केवल अक्षरहरूमा आँखा डुलाइरहेको मात्र थिइनँ, पाना पल्टाइरहेको मात्र थिइन । खासमा त त्यो अँध्यारो मस्तिष्कमा लागेको ताल्चा खोल्ने प्रयत्न थियो । किनभने यो मेरै वरीपरी घटिरहेका घटना र अन्यायको उद्घाटन थियो । मेरै वरीपरी घटिरहेका घटनाहरू तर मेरो दृष्टि भन्दा पर भएको थियो । प्रायः यस्तो हुन्छ, हाम्रा आँखाहरूले देखिरहेको हुन्छ तर पनि हामीले देखिरहेका हुँदैनौं । देख्नु केवल दृश्यपान गर्नुमात्र होइन, बोध गर्नु पनि हो । बोध मस्तिष्कले गर्छ, चेतनाले गर्छ । जब हामी बोध गर्न सक्षम हुँदैनौ हामीलाई सहारा चाहिन्छ । हाम्रो चेतना विस्तार गरिदिने माध्यम चाहिन्छ । ‘ताल्चा’ यस्तै माध्यम हो । 

यो कथा सङ्ग्रह पढिरहँदा मेरो मनमा बारम्बार प्रश्नहरू आइरहे । किन यस्तो विभेद ? किन अझै पनि माथिल्लो वर्गले निर्दोष मान्छेलाई दबाइरहेको ? किन एकल नारीलाई समाजमा सजिलै बाँच्न नदिएको ? युद्धका नाममा किन गाउँका निर्दोष महिलाको चिरहरण भइरहेको ? यस्ता अनगिन्ति प्रश्नहरूले डसिरहे । 

मैले महसुस गर्दै गरे, हामी स्वयं आफूले आफैलाई बन्द कोठामा राखेका हुँदा रहेछौ । अनौठो त के भने, बन्द कोठाको साँचो पनि हामीसँग नै हुन्छ । तर, हाम्रो मानसिकता नै यति पराधिन भइसकेको हुन्छ कि हामीले कहिल्यै साँचो चलाउने प्रयत्न नै गर्दैनौ । ‘ताल्चा’ त्यहीं साँचो हो । यहाँ म केही कथाहरूको चर्चा गर्छु । 

‘कैदी नं. ३५४’
कथा सङ्ग्रहको यो दोस्रो कथा हो । यस कथाको प्रमुख पात्र तया हो । पहिलो पटक प्रेममा परेकी तया बाहिरी दुनियाँसँग अपरिचित छिन् । विक्रम तयाको प्रेमी हो जसले तयाको निर्दोषपनको फाइदा लिन्छ र फरार हुन्छ । तयाले समाजलाई यो यथार्थ बताउँदा कसैले उसको विश्वास गर्दैन । समाले तयालाई नै दोषी ठहराउँछ । पितृसत्तात्मक समाजमा दोषी त नारी नै हुन्छे आखिर । तर, तयाले हिम्मत हार्दिन र बच्चा जन्माउँछे तर मृत…। सम्पूर्ण गाउँलेले बच्चा जन्माएर मारेको झुटो आरोप लगाउँछन् । तया जेल जान्छे । जेलमा आत्म हत्या गर्द लाग्दा छेउको दिदिले भन्छिन्‌— झ्यालखाना जिन्दगीलाई बुझ्ने स्कुल हो । तिमी नमरेर खास अपराधीलाई सजाय देउ । तया संविधान दिवसको दिन आम माफी पाई जेलबाट छुट्छिन् । रिहा हुनु एक दिन अघि उनले पत्रिकामा ‘श्रीमान्‌को मानिसक यातनाले श्रीमतीद्वारा आत्महत्या’ शीर्षकको समाचार देख्छिन् । त्यो श्रीमान् आखिर विक्रम नै हुन्छ । मेरो मनमा एउटा प्रश्न कथाले छोडिरहेको छ । के तयाले न्याय पाइन् ?

‘हल्लावा’ 
अर्को कथा छ— हल्लावा । यसको प्रमुख पात्र हो— बुङ्छ्याङमा । हल्लावा भनेको राई जातिको संस्कारमा कुनै पनि व्यक्तिको अकालमा मृत्यु भए पश्चात् पितृले अर्थात् कुलदेवताले आफ्नो शरणमा नलिनु र पुजारीले अन्तै बाटो लगाइदिने विधि चलन हो । 

बुङ्छ्याङमा २२ वर्षकी हुँदा नै दोब्बर उमेरको पुरुषले जोडबलमा विवाह (चोरी विवाह) गर्छ जबकि उसको पहिले नै दुईवटा श्रीमतीहरू हुन्छन् । उक्त पुरुषको पनि अकालमा मृत्यु हुन्छ । कथामा बुङ्छ्याङमाको श्रीमान् हल्लावा भएको र त्यसपश्चात् गाउँमा एकल नारी कान्छी श्रीमतीले गरेको सङ्घर्षलाई चित्रण गरिएको छ । 
बुङ्छ्याङमाको पीडा र दुःखको कारण एउटै हो, ऊ नारी हो । उसको विवाह हुन्छ त्यो पनि जबरजस्ती । अनि त्यहीं विवाहको परिणाम उसले भोगीरहन्छे । 

‘स्कुल’

यो कथाको प्रमुख पात्र मोटे हो । ऊ एकल महिलाको छोरा हो । उनले जेनेतन गरेर छोरालाई स्कुल भर्ना गराउँछिन् । माटेलाई शुद्ध लेख्न आए पनि बोल्न आउँदैन थियो । शिक्षकलाई तिमी सम्बोधन गरेकै कारण शिक्षकले गाली गर्दै सबै विद्यार्थीको अगाडि पिटेको थियो । गाली गर्दा ‘जाड खाने किरुवा’ भन्यो । मोटेले यो गाली आफ्नी आमालाई भनेको सरह महसुस गर्‍यो । त्यसकै कारण उसको मस्तिष्कमा नराम्रो असर पर्‍यो र ऊ विद्यालय जान छोड्यो । यस कथामा शिक्षकले फरक समुदायको लवज र भाषा नबुझ्दा हुने उत्पन्न हुने जटिलता र समस्या उजागर गरिएको छ । विडम्बना, शिक्षकलाई यसको कुनै पश्चाताप नै छैन । एउटा विद्यार्थी किन विद्यालय आउन मन गर्दैन भन्ने नसोच्नु नै हाम्रो शैक्षिक प्रणालीमाथि गम्भीर प्रश्न हो । यो कथाको भाषा शैली रमाइलो भए पनि अन्त्यमा पुग्दा यसले निराश र बेचैन बनाउँछ । 

‘ताल्चा’
यस कथा सङ्ग्रहको शीर्षक कथा हो यो । यसको प्रमुख पात्र रीमा र पर्वत हुन् । यो दुई प्रेमीहरूको कथा हो । जहाँ रिमाले पर्वतलाई निश्वार्थ प्रेम गर्छिन् । 

रीमा र पर्वतको कथा एकदमै संवेदनशील छ । पर्वतको आफन्त पनि हुँदैन र पैसा पनि हुँदैन । मुटु रोगी पर्वतलाई बचाउन रीमा संसारसँगले लडेको तर प्रतिफलमा उसले धोका र तिरस्कार पाएको छ । 

पर्वतलाई बचाउन रीमाले गर्नुपर्ने सबै गर्छ । पर्वतको लागि नै रीमा विदेश जान्छे । विदेशबाट पैसा पठाइरहन्छे । पछि पैसाको कुरा गर्दा झगडा पर्छ । पैसा पठाएको प्रमाण के छ भनेर सोध्छ । उनीहरूको बोलचाल नै बन्द हुन्छ । तर, पछिमात्र रीमाले थाहा पाउँछे कि पर्वतको त मृत्यु भईसकेको हुन्छ । रीमालाई पछुतो लागिरहन्छ ।  

यो पुस्तक पढिरहँदा हजारौं प्रश्न मनमा आउँछ तर उत्तर हुँदैन किनभने हामीले पनि हाम्रो मस्तिष्कमा ताल्चा लगाएका छौं ।  हाम्रो मस्तिष्कमा दोस्रो व्यक्ति तथा समाजको धारणा नै सर्वोपरि भएको हुन्छ  तर यो बुझ्न हामीले मस्तिष्कको ताल्चा खोल्नुपर्छ । 

ताल्चा केवल एघार कथाहरूको सङ्ग्रह होइन । यो एघार जीवनको भित्री कोठाहरूको प्रदर्शन हो । यस्ता भित्री कोठाहरू जहाँ पात्रहरू कैद छन् । बन्दी छन् । कहिले प्रेममा, कहिले भाग्यमा, कहिले परिनिर्भरतामा, कहिले लैङ्गितामा । 

फिनिक्स बुक्सले २०७८ मा प्रकाशन गरेको ‘ताल्चा’ केवल किताब होइन यो नेपाली समाजको पर्दाफास हो । यी कथाहरूको माध्यमबाट लेखले जीवनहरूको भोगाईमार्फत् विद्रोह बोलिरहेका छन् । जीवनको दैनिकीमा सतहमा नदेखिने सत्यहरूमार्फत् मौन विद्रोह अभिव्यक्त गरिरहेछन् । 

(लिम्बु लुम्बिनी इन्टिग्रेटेड एकेडेमी, बी.ए.एलएल.बी. दोस्रो वर्षकी छात्रा हुन् । लिम्बुको यो पुस्तक समीक्षा दैनिक लुम्बिनीको शनिबारीय साहित्यिक परिशिष्टांक ‘पाहुर’मा २०८२ असार २८ गते शनिबार प्रकाशित भएको थियो । यो सामग्री लुम्बिनी दैनिकको वेभपेज https://lumbinipatrika.com/content/5408 बाट साभार गरिएको हो ।)

News Quiz Contest Review Students' Pen

Leave a Reply

Your email address will not be published.

You may use these <abbr title="HyperText Markup Language">HTML</abbr> tags and attributes: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

*